Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
गन्ती 14:1-15:16

मानिसहरू फेरि गनगनाए

14 सबै मानिसहरू छाउनीभित्र त्यस रातभरि कराई कराई रोइ रहे। इस्राएलका सबै मानिसहरूले मोशा र हारूनको विरूद्धमा गनगनाए। सबै मानिसहरूले तिनीहरूलाई भने, “यदि हामी मिश्रदेशमा नै अर्थात् यो मरुभूमिमा मरेको भए राम्रो हुनेथियो। किन परमप्रभुले हामीलाई लडाईमा तरवारले काटी मार्न त्यस भूमिमा लैजानु हुँदैछ? हाम्रा जहान बालबच्चाहरू पनि लूटिने समान झैं लूटमा पक्रा पर्नेछन्। हामीलाई मिश्र देशमा फर्किनु नै असल हुन्छ।”

तिनीहरूले एक अर्कामा भने, “एकजना अगुवा चुनौं र मिश्रदेश फर्कौं।”

सबै इस्राएली मानिसहरूको सामुन्ने मोशा र हारून भूइँमा घोप्टो परे। नूनको छोरो यहोशू र यपून्नेको छोरो कालेब भूमिको जाँच गर्न जानेहरू मध्ये दुइजना थिए तिनीहरूले लुगाहरू च्याते मानिसहरूले गनगन गरेकोमा तिमीहरूले दुःख देखाए। यहोशू र कालेबले इस्राएलका सम्पूर्ण समुदायलाई भने, “यो भूमि जसलाई हामीले जाँच गर्यौं त्यो धेरै राम्रो भूमि छ। यदि परमप्रभु हामीसित सन्तुष्ट हुनु भए उहाँको अगुवाईमा हामीलाई त्यस भूमीमा पुर्याउनु हुनेछ अनि त्यो दूध र मह बग्ने भूमि हामीलाई दिनु हुनेछ। यसर्थ परमप्रभु-विरूद्ध बिलाप नगर, त्यस भूमिका मानिसहरूसित नडराऊ किनभने हामी तिनीहरूलाई सजिलै जित्नेछौं। तिनीहरूको सुरक्षा तिनीहरूबाट हरण गरिएको छ। तर हामीसित भने परमप्रभु हुनुहुन्छ, तिनीहरूसित नडराऊ।”

10 तर त्यहाँ भएका सबै मानिसहरूले यहोशू र कालेबलाई ढुङ्गाले हिर्काएर मार्ने सल्लाह गरे। त्यसपछि भेट हुने पालमा सबै इस्राएली मानिसहरूको सामुन्ने परमप्रभुको महिमा देखा पर्यो। 11 परमप्रभुले मोशालाई भन्नुभयो, “यी मानिसहरूले कहिले सम्म मसित घृणीत व्यवहार गर्छन्? यिनीहरूको माझमा मैले यी सबै महान चिन्हहरू देखाई सकेको छु र अब कहिले सम्म तिनीहरूले मलाई अविश्वास गर्छन्? 12 तिनीहरू माथि म महामारी ल्याएर ध्वंश पार्छु अनि तिमीद्वारा नै म तिनीहरू भन्दा ठूलो र शक्तिशाली राष्ट्र निर्माण गर्नेछु।”

13 तब मोशाले परमप्रभुलाई भने, “मिश्र देशवासीहरूले यदि यो कुरा चाल पाए के भन्लान्? कारण तपाईंले नै यिनीहरूलाई आफ्नो शक्तिको प्रभावले तिनीहरूको माझबाट ल्याउनु भएको हो। 14 अनि मिश्रका मानिसहरूले कनानीहरूलाई यस विषयमा भन्नेछन् कारण तिनीहरू जान्दछन् कि तपाईंलाई देखेका छन्। तिनीहरूले यो पनि जान्दछन् कि तपाईं परमप्रभु हुनुहुन्छ र तिनीहरूले जान्दछन् कि मानिसहरूले तपाईंलाई देखेका छन्। तिनीहरूले यो पनि जान्दछन् कि मानिसहरूको अगुवाई गर्ने दिनमा तपाईंले बादलको प्रयोग गर्नु भएको छ भने रातमा आगोको प्रयोग गर्नु भएको छ। 15 यसर्थ अहिले तपाईंले यी मानिसहरूलाई मार्नु हुँदैन। यदि तपाईंले मार्नु भयो भने तपाईंको शक्तिको बारेमा जान्ने सबै राष्ट्रहरूले भन्नेछन्, 16 ‘आफूले शपथ गरेको भूमिमा मानिसहरूलाई ल्याउन नसक्दा परमप्रभुले तिनीहरूलाई मरुभूमिमा मार्नुभयो।’

17 “यसर्थ अहिले हे मालिक आफ्नो महामहिमा प्रदर्शन गर्नुहोस्। तपाईंले प्रतिज्ञा गरे झैं देखाउनु होस्। 18 तपाईंले भन्नुभयो, ‘परमप्रभु क्रोधगर्न ढिलो हुनुहुन्छ, परमप्रभु करूणामय हुनुहुन्छ। कानुन् अमान्य गरी जो दोषी बनिन्छ त्यस्ताहरूलाई परमप्रभुले क्षमा दिनुहुन्छ। तर जो दोषी छन् तिनीहरूलाई परमप्रभुले सदैव दण्ड दिनुहुन्छ। परमप्रभुले यस्ता मानिसहरूलाई, तिनीहरूका छोरा-छोरीहरूलाई, तिनीहरूका नाती-नातिनी तथा पनाती पनातिनीहरू सम्मलाई तिनीहरूले गरेको खराब कार्यको निम्ति दण्ड दिनुहुन्छ।’ 19 अहिले तपाईंले मानिसहरूलाई आफ्नो महान करूणा देखाउनु होस् र मिश्र देश छोडेर आएको दिनदेखि जसरी क्षमा गर्दै आउनु भएकोछ आज पनि ती मानिसहरूलाई क्षमा गरिदिनु होस्।”

20 परमप्रभुले भन्नुभयो, “तिमीले भने जस्तै म तिनीहरूलाई क्षमा दिनेछु। 21 तर म साँचो भन्दछु, जस्तो म जीवित छु र जसरी परमप्रभुको महिमाले पृथ्वी नै भरिन्छ, 22-23 ती सबै मानिसहरू मेरो महिमा र मेरा अश्चर्य चिन्हहरू जो मैले मिश्र देशमा देखाएको देखेका छन् अनि दश पल्ट मलाई परीक्षा लिएका छन् र ऐले मेरो कुराहरू मान्दैनन्, यी सब मानिसहरूले मैले तिनीहरूको पुर्खाहरूसित दिन्छु भनी शपथ गरेको भूमि देख्न पाउने छैनन्। 24 तर मेरो दास कालेब जसले भिन्दै प्रकारले सोच्छ अनि त्यसले सम्पूर्ण रीतिले मेरो अनुशरण गर्छ म उसलाई त्यो भूमिमा जहाँ ऊ गयो ल्याउनेछु र उसको सन्तानले त्यो भूमि उपभोग गर्नेछ। 25 अमालेकीहरू र कनानीहरू त्यही बेंसीमा बसिरहेका छन्। यसर्थ भोलि तिमीहरूले यो ठाउँ छाड्नु नै पर्छ र लाल समुद्र को बाटो भएर तिमीहरू त्यो मरुभूमिमा फर्की जाऊ।”

परमप्रभुले मानिसहरूलाई दण्ड दिनुहुन्छ

26 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, 27 “मेरो विरूद्धमा यी दुष्ट मानिसहरूले कहिले सम्म नालिश गरिरहने। इस्राएलका मानिसहरूले मेरो विरूद्धमा लगाएको नालिश मैले सुनेको छु। 28 तिनीहरूलाई भनी देऊ, ‘जस्तो म जिवित छु परमप्रभु भन्नुहुन्छ तिमीहरूले परमप्रभुको विरोधमा जे जति भनेका थियौ ती सब पूर्ण गरी दिनेछु। तिमीहरूलाई जे गर्नेछु त्यो यही हो। 29 तिमीहरूको बीचमा प्रत्येक व्यक्ति जो बीस बर्ष अथवा वेशी उमेरको छ अनि मेरो मानिस भनी गन्ती भएको थियो, त्यो यही मरुभूमिमा मर्नेछ। तिमीहरूले म परमप्रभुको विरूद्ध नालिश गर्यौ। 30 यसर्थ तिमीहरू मध्ये त्यो मैले दिन्छु भनी प्रतिज्ञा गरेको भूमिमा कोही पनि पस्न पाउने छैन्। केवल यपून्नेको छोरो कालेब र नूनको छोरो यहोशू त्यो भूमिमा पस्नेछन्। 31 तिमीहरूले नालिश गर्यौ कि त्यो नयाँ भूमिमा तिमीहरूका शत्रुहरूले तिमीहरूका नानीहरू खोसेर लैजानेछन्। तर म तिमीहरूलाई भन्छु कि म ती नानीहरू ल्याउनेछु र तिनीहरूले त्यसभूमिमा ती चीजहरू आनन्दले उपभोग गर्नेछन जुन तिमीहरूले अस्वीकार गर्यौ। 32 तर तिनीहरूको निम्ति तिमीहरू यही मरुभूमिमा नै मर्ने छौ।

33 “‘तिमीहरूका नानीहरू मरुभूमिमा चालीस बर्ष सम्म गोठाले भई बस्नेछन्। तिमीहरू म प्रति अविश्वासी हुनाको कारणले ती तिमीहरूका नानीहरूले तिमीहरू मरुभूमिमा सबै जना नमरून्जेल सम्म कष्ट भोग्नेछन्। 34 त्यो भूमिको खोजीमा मानिसहरूले चालीस दिन लगाएको हुनाले दिनको एक बर्षको हिसाबले तिमीहरूले चालीस बर्ष सम्म कष्ट भोग्ने छौ। तिमीहरूले चाल पाउनेछौ कि म तिमीहरूको विरोधी हुँदा के हुँदो रहेछ।’

35 “म परमप्रभुले बोलेको हुँ र म प्रतिज्ञा गर्छु कि यी सब दुष्ट मानिसहरू विरूद्ध यी कुराहरू गर्छु नै। यी मानिसहरू मिलेर मेरो विरोधमा खडा भए, यसर्थ यो मरुभूमिमा यिनीहरू मर्छन्।”

36 ती व्यक्तिहरू ज-जसलाई मोशाले भूमि जाँच गर्न पठाएका थिए तिनीहरूले भूमिको विषयमा इस्राएली मानिसहरूको निम्ति नराम्रो खबर लिएर आए। यसो गरेर तिनीहरूले सारा समूदायलाई उनको विरूद्धमा गनगन गर्ने बनाए। 37 ती सबै मानिसहरूलाई मार्न परमप्रभुले महामारी खन्याई दिनुभयो किनभने मानिसहरूमा भ्रम फैलाउने कसुर तिनीहरूको थियो। 38 तर नूनका छोरो यहोशू र यपून्नेका छोरो कालेब पनि ती भूमि बिषेयमा खोजी गर्न पठाइएका मानिसहरू बीच कै थिए, ती दुइजनालाई परमप्रभुले रक्षा गर्नुभयो।

मानिसहरूको पुनःविरोध

39 जब मोशाले यी सब कुराहरू इस्राएली मानिसहरूलाई बताइदिए तिनीहरू अत्यन्तै शोकाकुल भए। 40 बिहानै उठेर मानिसहरू पाहाडी इलाका तिर उक्लनु थाले। मानिसहरूले भने, “हामीले पाप गरेका छौ। परमप्रभुलाई हामीले अविश्वास गर्यौं, यसर्थ हामी पश्चताप गर्छौं र हामी परमप्रभुले दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा जानेछौं।”

41 तर मोशाले भने, “परमप्रभुको आज्ञा किन पालन गरिरहेका छैनौ? तिमीहरू सफल हुँदैनौ। 42 त्यस भूमिमा नजाऊ कारण परमप्रभु तिमीहरूको साथमा हुनुहुन्न र शत्रुहरूले साजिलै तिमीहरू माथि विजय प्राप्त गर्नेछन। 43 त्यहाँ अमालेकी र कनानी मानिसहरू तिमीहरूको विरोधमा लड्नेछन्, तर तिमीहरूले परमप्रभुलाई छोडी दिएकोले उहाँ तिमीहरूले लडेको लडाईँमा साथ दिनुहुने छैन र तिमीहरू सबै मर्नेछौ।”

44 तर मानिसहरूले मोशाको कुरामा विश्वास गरेनन् र तिनीहरू पहाडी इलाकातिर गए। तर मोशा र परमप्रभुको करारको सन्दूक ती मानिसहरूसित गएन। 45 त्यो पहाडी इलाकामा बस्ने अमालेकी र कनानी मानिसहरू तलतिर उत्रे र ती इस्राएली मानिसहरूमाथि आइलागे। अमालेकी र कनानी मानिसहरूले इस्राएली मानिसहरूलाई सजिलै परास्त पारि तिनीहरू सबैलाई होर्मासम्म खेद्दै लगे।

बलिको विषयमा नियमहरू

15 परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका मानिसहरूलाई भन जब तिमीहरू मैले दिन्छु भनेको भूमिमा पस्छौ, तिमीहरूले परमप्रभुलाई आगोद्वारा विशेष बलिदान चढाउनु पर्छ। त्यो विशेष बलिदानको सुगन्धले परमप्रभुलाई आनन्द दिनेछ। तिमीहरूले होमबलि अथवा कुनै पनि बाख्रा, भाकल बलिदानको बलि, विशेष बलि, मेलबलि राजीखुशीको बलि अथवा कुनै चाडको निम्ति विशेष बलिमा गाई-वस्तु र भेंडा अथवा बाख्राहरू चढाउनेछौ।

“एकजना व्यक्तिले उपहार ल्याउँदा उसले परमप्रभुलाई अन्नबलि पनि दिनुपर्छ। बलि चढाउँदा अन्नबलिमा एक चौथाई हीन भद्राक्षको तेल हालेर आठ कप मसिनो पीठो ल्याउनु पर्छ। जब तिमी होमबलि साथमा अर्घबलिको निम्ति थुमा चढाउँछौ एक चौथाई हीन दाखरस पनि चढाउनु पर्छ।

“यदि तिमी भेंडा बलि चढाउँछौ भने तिमीले अन्नबलि पनि तयार पार्नु पर्छ। अन्नबलिमा एपाको दश खण्डको दुइ खण्ड मसिनो पीठोमा हीनको तीन खण्डको एक खण्ड भद्राक्षको तेल मिसाउनु पर्छ। अनि अर्घबलिको निम्ति हीनको तीन खण्डको एक खण्ड दाखरस राख्नु पर्छ र यसले परमप्रभुलाई मीठो वास्ना दिनेछ।

“तिमीले यदि आफ्नो होमबलि, वा बलिदान, मेलबलि अथवा कुनै विशेष भाकलको निम्ति एउटा जवान साँढे तयार पार्न सक्छौ। त्यस समयमा जवान साँढेसित तिमीले अन्न बलि पनि ल्याउनु पर्छ। अन्न बलि आधा हीन भद्राक्षको तेल मिसाएको एपाको दश खण्डको तीन खण्डको मसिनो पीठो हुनु पर्छ। 10 अर्घबलिको निम्ति आधा हीन दाखरस पनि ल्याउनु पर्छ। यो बलि आगोद्वारा चढाइन्छ र यसको सुगन्धले परमप्रभुलाई प्रसन्न पार्छ। 11 प्रत्येक साँढे अथवा भेंडा अथवा थुमा अथवा बाख्राको पाठो परमप्रभुलाई बलि स्वरूप चढाउँदा यसरी तयार पार्नु पर्छ। 12 यी कुनै आवश्यक छैन कति पशुहरू तिमीहरूले तयार गर्छौ, तर तिमीले यो प्रत्येक को निम्ति गर्नु पर्छ।

13 “इस्राएलका प्रत्येक नागरिकले परमप्रभुलाई प्रसन्न गराउन बलि चढाउँदा यही तरिकाले अगोद्वार चढाउनु पर्छ। 14 यदि तिनीहरू बीचमा बस्ने विदेशीहरूले आगोद्वारा बलि चढाएर परमेश्वरलाई खुशी पार्न चाहन्छ भने, तिमीहरूले तिनीहरूले जस्तै बलि चढाउनु पर्छ। 15 यही नियमहरू इस्राएलका मानिसहरू र तिनीहरूसित यो देशमा बसो-बास गर्ने विदेशीहरू प्रत्येकको निम्ति लागू हुनेछ। यही कानून सदा-सर्वदा लागू रहनेछ। तिमी र तिमीहरूसित बसो-बास गर्ने विदेशीहरू परमप्रभुको उपस्थितीमा एकै हुन्। 16 त्यही नियम र विधि तिमीहरूको निम्ति र विदेशीहरूको निम्ति लगाइन्छ जो तिमीहरूसित बसो-बास गर्छन्।”

मर्कूस 14:53-72

येशू यहूदी प्रमुखहरूको सामुन्ने

(मत्ती 26:57-68; लूका 22:54-55,63-71; यूहन्ना 18:13-14,19-24)

53 येशूलाई पक्रने मानिसहरूले उहाँ लाई प्रधान पूजाहारीको घरमा पुर्याए त्यहाँ सबै मुख्य पूजाहारीहरू, यहूदी बूढा प्रधानहरू र शास्त्रीहरू भेला भए। 54 पत्रुसले येशूलाई पछ्याउँदै थियो, तर उ उहाँका त्यत्ति नजिक थिएन। पत्रूसले येशूलाई प्रधान पूजाहारीको घरको चौक नपुगे सम्म पछ्याए। त्यो त्यहाँ रक्षक साथ बसिरहेको थियो अनि आगो ताप्दै थियो।

55 मुख्य पूजाहारीहरू, र पूरा यहूदी महासभाले येशूलाई मार्नका निम्ति येशू विरुद्ध झूटो प्रमाण खोजिरहेका थिए। तर तिनीहरूले कुनै त्यस्तो प्रमाण पाएनन्। 56 अनेकौं मानिसहरू आए अनि येशूको विरूद्ध झूटो आरोपहरू लगाए। तर ती प्रमाणहरू एक अर्कामा मिल्दैनथ्यो।

57 त्यसपछि केही मानिसहरू उठे, अनि येशूको विरूद्धमा झूटो साक्षी दिए। तिनीहरूले भने, 58 “हामीहरूले यस मानिसले भनेका सुनेका छौं, ‘मानिसहरूले बनाएको मन्दिर म ध्वंस गरिदिनेछु। त्यसको तीन दिनमा, म अर्को मंन्दिर बनाइदिनेछु जुन मन्दिर मानिसहरूले बनाएको हुँदैन।’” 59 तर यी मानिसहरूले भनेका कुरामा पनि कोही सहमत हुने भएनन्।

60 त्यसपछि प्रधान पूजाहारी सबै मानिसहरूको अघि खडा भए, अनि येशूलाई भन्नलागे, “यी मानिसहरूले तपाईंको विरुद्धमा धेरै बोले। आफ्नो विरूद्धमा आएको यस्तो आरोपहरूको विरुद्धमा तपाईंको भन्नु पर्ने केही छ? के यी मानिसहरूले साँच्चो कुराहरू गरिरहेका छन्?” 61 तर येशू चुप चाप बस्नु भयो। उहाँले कुनै उत्तर दिनु भएन।

प्रधान पूजाहारीले उहाँलाई फेरि अर्को प्रश्न गरेः “के तपाईं परमधन्य परमेश्वरको पुत्र, ख्रीष्ट नै हुनुहुन्छ?”

62 येशूले जवाफ दिनुभयो, “हो, म नै परमेश्वरको पुत्र हुँ। तिमीहरूले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिने पट्टि बसेर स्वर्गको बादलसित आउँदै गरेको देख्नेछौ।”

63 जब प्रधान पूजाहारीले यो कुरा सुने, उनी खूबै रिसाए। उनले आफ्नो वस्त्र च्यातै र भने, “हामीलाई अब अरू धेरै गवाहीहरूको आवश्यकता छ र? 64 तिमीहरू सबैले यो मानिसले परमेश्वरको निन्दा गरेको सुन्यो। तिमीहरूको के निर्णय छ?”

सबैले येशूलाई भुल गरेको ठहराए। अनि मार्नू पर्छ भने। 65 त्यहाँ भएका कतिजनाले येशूलाई थुके। तिनीहरूले येशूको अनुहार छोपिदिए अनि उहाँलाई हिर्काए। तिनीहरूले भने, “तपाईं अगमक्ता हो भनेर हामीलाई देखाउनुहोस्।” त्यसपछि पहरादारहरूले उहाँलाई लगे र कुटे।

येशूलाई चिन्छु भन्न पत्रुस डराए

(मत्ती 26:69-75; लूका 22:56-62; यूहन्ना 18:15-18,25-27)

66 त्यति बेला पत्रुस आँगनमा नै थिए। प्रधान पूजाहारीको एकजना नोकर्नी केटी त्यहाँ आई। 67 त्यसले पत्रुसलाई आगो ताप्दै गरेको देखी। त्यो पत्रुसको नजिकै आएर हेरी। तब त्यो केटीले भनी, “नासरतको येशूसँग तिमी पनि थियौ?”

68 तर पत्रुसले यसो भन्दै इन्कार गरे। उनले भने “म जान्दिन अनि बुझ्दिन कि तिमीले के भनिरहेका छौ।” तब पत्रुस त्यो ठाउँ छोडेर आँगनको प्रवेशद्वारतिर गए। त्यसबेला भाले बास्यो।

69 त्यो नोकर्नी केटीले उसलाई त्यहाँ देखी। फेरि त्यस केटीले त्यहाँ उभिरहेकाहरूलाई सोधी, “यो मानिस तिनीहरूमध्ये कै एकजना हो।” 70 फेरि पत्रुसले यी कुरा साँच्चो होइन भनेर भने।

केहीक्षण पछिनै, केही मानिसहरू जो त्यहाँ उभिरहेका थिए, पत्रुसलाई भने, “हामी तिमीलाई ती मध्येहरूको एकजना हो भनेर चिन्दछौं किनभने तिमी गालील बासी हौ।”

71 त्यसपछि पत्रुसले धिक्कार्न लागे अनि उनले भने, “तिमीहरूले जुन मानिसको बारेमा कुरा गर्दैछौ तिनलाई म चिन्दिन परमेश्वरको नाममा शपथ खान्छु।”

72 अनि तुरन्तै, दोस्रोपल्ट भाले बास्यो। त्यपछि पत्रुसलाई येशूले भन्नु भएको अघिका कुराहरू सम्झन थाले, “दुइपल्ट भाले बास्नु अघिसम्म तिमीले मलाई चिन्दिन भनेर तीनपल्ट भन्ने छौ।” पत्रुस त्यसपछि खुबै दुःखीत भए अनि रून लागे।

भजनसंग्रह 53

प्रमुख संगीतकारलाई: “महलथ” भन्ने रागमा दाऊदको “मस्किल” नामको भजन।

केवल मूर्खहरूले मात्र परमेश्वर छैन भनेर सोच्दछन्।
    त्यस्ता मानिसहरू भ्रष्ट, दुष्ट, धूर्त हुन्छन्,
    अनि तिनीहरूले कहिल्यै राम्रो काम गर्दैनन्।
त्यहाँ साँच्चै नै परमेश्वर हामी तर्फ नै स्वर्गबाट हेरिरहनु भएको छ।
    परमेश्वरले ज्ञानी पुरूषहरूलाई खोजिरहनु भएको छ,
    जसले परमेश्वरलाई नै खोजिरहेछन्।
तर प्रत्येक जन परमेश्वर देखि विमुख भएका छन्।
    प्रत्येक मानिस कपटी छन्।
कसैले पनि राम्रो काम गर्दैन।
    एकजना पनि राम्रो काम गर्ने मानिस छैन!

परमेश्वर भन्नुहुन्छ, “निःसन्देह ती दुष्ट मानिसहरूले सत्य जान्दछन्।
    तिनीहरूले मलाई प्रार्थना गर्दैनन्।
    दुष्ट मानिसहरू मेरो भक्तजनहरूलाई ध्वंश पार्न उनीहरूको खाना खान जतिकै तयार छन्।”

तर ती दुष्ट मानिसहरू भयग्रस्त हुनेछन्
    त्यस्तो पहिले किहल्यै भएका-थिएनन्! ती पापीहरू इस्राएल का शत्रुहरू हुन्।
परमेश्वरले त्यस्ता पापीहरूलाई रद्ध गर्नु भएको छ।
    यसैले परमेश्वरका मानिसहरूले तिनीहरूलाई परास्त पार्नेछन्,
अनि परमेश्वरले तिनीहरूको हाडहरू छिन्न-भिन्न पारिदिनु हुनेछ।

म इच्छा गर्छु परमेश्वरले सियोन पर्वतमाथि
    इस्राएल को निम्ति विजय ल्याउनु हुनेछ।
त्यही बेला परमेश्वरले आफ्ना भक्तजनहरूलाई निर्वासनबाट फर्काई ल्याउनु हुनेछ।
    याकूब प्रफुल्लित हुनेछ।
    इस्राएल आनन्दले ओतप्रोत हुनेछ।

हितोपदेश 11:4

धनले मानिसहरूलाई परमेश्वरको न्याय दिनमा सहायता गर्नु सक्दैन, तर धार्मीकताले मानिसलाई मृत्युबाट रक्षा गर्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International