Add parallel Print Page Options

येशूद्वारा मृत युवतीलाई प्राणदान अनि रोगी स्त्रीलाई आरोग्य प्रदान

(मत्ती 9:18-26; लूका 8:40-56)

21 येशू डुङ्गामा चढेर समुद्रपार गरी समुद्रको अर्को तर्फ जानुभयो। समुद्रको त्यस किनारमा उहाँका वरिपरि धेरै मानिसहरू भेला भए। 22 सभाघरका एकजना याईरसले येशूलाई देखे, अनि येशूलाई दण्डवत गरे। 23 याईरसले येशूलाई एकोहोरो बिन्ती गरिरहे र भने, “मेरी सानि छोरी मर्न आँटेकी छे। कृपया झट्टै आऊनुहोस् र उसमाथि तपाईं को हात राख्नुहोस् त्यसपछि ऊ निको हुनेछे अनि बाँच्नेछे।”

24 अनि येशू याईरससित जानूभयो। धेरै मानिसहरूले येशूलाई पछ्याए। येशूलाई वरिपरि घेरिएको भीडले उहाँलाई धकेलीरहेको थियो।

25 ती मानिसहरूसँग एउटी आईमाई पनि थिई। त्यस आईमाईलाई बाह्र वर्ष अघिदेखि रगत बग्ने व्यथा थियो। 26 त्यो आईमाई खुबै पीडीत थिई। धेरै वैद्यहरूले त्यसको उपचार गरे। आफ्ना भए जति सबै सम्पत्ति त्यसले खर्च गरेकी थिई, तर उसमा सुधार पटक्कै आएन। त्यसको व्यथा अझ बिग्रँदै गयो।

27 त्यस आईमाईले येशूको बारेमा सुनेकी थिई। मानिसहरूको भीडबाट भएर गई त्यस स्त्री पछिल्तिरबाट येशू कहाँ आई अनि उहाँको वस्त्र छोई। 28 त्यसले बिचार गरी, “यदि मैले उहाँको वस्त्र मात्रपनि छुन पाएँ भने म जाती हुनसक्छु।” 29 अनि जब त्यसले उहाँको वस्त्र छोई तत्कालै रगत बग्न बन्द भयो। त्यस आईमाईले आफ्ना सारा जीउ नै व्यथा मुक्त भएको अनुभव गरी। 30 अनि येशूले आफूबाट शक्ति संचार भइरहेको अनुभव गर्नुभयो। उहाँ रोकिनु भयो अनि भीडतर्फ र्फकनुभयो, अनि उहाँले सोध्नु भयो, “कसले मेरो वस्त्र छोयो?”

31 चेलाहरूले येशूलाई भने, “तपाईंको वरिपरि यति विध्न मानिसहरू छन्। तपाईंलाई ठेल्दैछन्। तर तपाईं सोध्नु हुन्छ, ‘मलाई कसले छोयो?’”

32 तर येशूले त्यो छुने मानिसलाई पत्ता लगाऊन घरि घरि हेर्न लाग्नु भयो। 33 त्यस आईमाईले आफू निको भएको ठानी, अनि त्यो आई अनि येशूको चरणमा घोप्टी त्यो डरले काँपिरहेकी थिई। त्यसले सारा सत्य येशूलाई सुनाई। 34 येशूले त्यस आईमाईलाई भन्नुभयो, “हे स्त्री, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्यौ। शान्तिसित जाऊ। अब तिमी तिम्रो रोगबाट मुक्त भयौ।”

35 येशू अझैसम्म त्यहाँ बोलिरहनु भएको थियो। केही मानिसहरू सभाघरका प्रमुखका घरबाट आए, तिनीहरूले भने, “तिम्रो छोरी मरी सकी। अब गुरूज्यूलाई दु:ख दिने आवश्यकता छैन।”

36 तर मानिसहरूले भनेका कुरामा येशूले वास्ता गर्नु भएन। येशूले सभाघरका प्रमुखलाई भन्नुभयो, “डराउनु पर्दैन, खालि विश्वास गर।”

37 येशूले पत्रुस, याकूब, याकूबका भाइ यूहन्ना बाहेक अरू कसैलाई पनि उहाँको साथमा आउन अनुमति दिनुभएन। 38 येशू अनि उहाँका चेलाहरू सभाघरका शासकको घरमा जानू भयो। येशूले मानिसहरू चित्कार गरिरहेको अनि रोईरहेको सुन्नु भयो। त्यहाँ खुब अलमल थियो। 39 येशू घरभीत्र पस्नुभयो अनि मानिसहरूलाई भन्नुभयो, “तिमीहरू किन यत्रो हल्ला मच्चाई रहेछौ? यो केटी मरेको छैन। ऊ सुती रहेकी छे।” 40 तर तिनीहरूले येशूमाथि हाँसो गरे।

येशूले सबै मानिसहरूलाई घरदेखि बाहिर जानभन्नु भयो। उहाँले बालिकाको बाबू आमा अनि आफ्ना तीनजना चेलाहरूलाई राख्नु भयो अनि त्यो बालिका भएको कोठाभित्र जानुभयो। 41 अनि बालिकाको हात समातेर येशूले भन्नुभयो, “तालिता कूमी!” (जसको अर्थ, “सानी बालिका, म तिमीलाई भन्दैछु उठ!”) 42 सानी बालिका जुरूक्कै उठी अनि हिँड्न लागी। (बालिका 12 र्वष पुगेकी थिई) बाबु, आमा र चेलाहरू यो देखी छक्क परे। 43 येशूले ती बाबू र आमालाई यसबारेमा कसैलाई पटक्कै केही नभन्नु भनेर कड़ा आज्ञा दिनुभयो, त्यसपछि येशूले त्यस केटीलाई केही खानेकुरा दिनु भनेर अह्राउनुभयो।

Read full chapter