Add parallel Print Page Options

येशू आफ्नो शहरमा जानुहुन्छ

(मत्ती 13:53-58; मर्कूस 6:1-6)

16 येशूले आफू हुर्केको शहर नासरतको पनि यात्रा गर्नु भयो। विश्रामको दिनमा अघि झैं उहाँ सभाघरमा जानु भयो। उहाँ त्यहाँ (धर्मग्रन्थबाट) केही पढनलाई उभिनु भयो। 17 यशैया अगमवक्ताद्वारा लेखिएको ग्रन्थ उहाँलाई दिईएको थियो। उहाँले ग्रन्थ पल्टाउनु भयो अनि एक ठाउँ जहाँ निम्नलिखित कुराहरू लेखिएको भेट्टाउनु भयोः

18 “परमप्रभुको आत्मा ममाथि छ।
    परमेश्वरले मलाई गरीबहरूलाई सु-समचार सुनाउन,
बन्धनमा परेकाहरूलाई स्वतन्त्र गर्न,
    अनि अन्धो मानिसहरूलाई देख्न सक्ने पार्न पठाउनु भएकोछ।
अनेकौं यातनामा पिल्सिएका मानिसहरूलाई मुक्त पार्न परमेश्वरले मलाई पठाउनु भएकोछ।
19     अनि आफ्नो मानिसहरूलाई बचाउन परमप्रभुको उचित समय आएको छ,
    भनिघोषणा गर्न पठाउनु भएकोहो।”(A)

20 उहाँले ग्रन्थ बन्द गर्नुभयो। उहाँले त्यो ग्रन्थ सहयोगीलाई दिएर त्यहीं बस्नुभयो। सभा घरमा भएका प्रत्येक मानिसले उहाँ लाई हेरिरहेका थिए। 21 येशू तिनीहरूसँग बोल्न थाल्नु भयो उहाँले भन्नु भयो, “मैले तिमीहरू अघि जो धर्मग्रन्थको अंश पढे त्यो आज पढदै गर्दा नै पूर्ण भयो।”

22 सबै मानिसहरूले येशूको प्रसंशा गरे। उहाँको मिठासपूर्ण शब्दहरूमा तिनीहरू छक्क परे। तिनीहरूले भने, “कसरी उहाँले यसरी बोल्नु सक्नु भएको? के उहाँ यूसुफका पुत्र हुनुहुन्न?”

23 येशूले तिनीहरूलाई भन्नु भयो, “म जान्दछु कि तिमीहरूले मलाई यो उखान भन्नेछौ, ‘ए वैध! आफैंलाई निको पार। तिमीले आफ्नै शहरमा पनि त्यही गर।’” 24 त्यसपछि उहाँले भन्नु भयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। अगमवक्तालाई आफ्नै गाँउ शहरमा कहिल्यै स्वीकार गरिदैन। म जे भन्दैछु त्यो साँच्चो हो।

25-26 “एलियाको समयमा साढे तीन वर्षसम्म इस्राएलको जमीनमा ठूलो अनिकाल पर्यो। सारा देशमा कतै पनि खाने कुरा थिएन। त्यसबेला इस्राएलमा विधवाहरू थुप्रै थिए। तर एलियालाइ ती कुनै विधवाकोमा पठाइएन। सीदोन प्रदेशको सारपत भन्ने ठाउँमा चाँहि एलियालाई एउटी विधवाकोमा पठाइयो।

27 “अनि अगमवक्ता एलिशाको समयमा इस्राएलमा धेरै कोडका रोगीहरू थिए। तर नामान बाहेक कसैलाई पनि निको पारिएन। अनि नामान इस्राएलवासी नभई सिरियावासी थिए।”

28 सबै मानिसहरू जो सभा-घरमा थिए यो कुराहरू सुने अनि साह्रै रिसाए। 29 मानिसहरू उठे अनि येशूलाई शहर छाड्न वाध्य गराए। तिनीहरूको शहर एउटा टाकुरामा अवस्थित थियो। तिनीहरूले येशूलाई टाकुराको किनारामा पुर्याए अनि तिनीहरू उहाँलाई तल खसाल्न चाहन्थे। 30 तर उहाँ तिनीहरूको माझबाट निस्केर जानु भयो।

Read full chapter