Add parallel Print Page Options

कोही सदूकीहरूद्वारा येशूको परिक्षा लिने चेष्टा

(मत्ती 22:23-33; मर्कूस 12:18-27)

27 कोही सदुकीहरू येशूकहाँ आए। तिनीहरू विश्वास गर्दथे कि मानिस मरेपछि फेरि कहिल्यै बौरी उठ्दैन। तिनीहरूले येशूलाई भने, 28 “गुरुज्यू, मोशाले लेख्नु भएको छ कि यदि कुनै विवाहित मानिस सन्तान नजन्माई मर्यो भने उसकी पत्नीलाई उसको भाइले दाज्यूको सन्तानको निम्ति विवाह गर्नुपर्छ अनि दाज्यूको लागि सन्तान जन्माउनु पर्छ। 29 कुनै एक समयमा सातजना दाज्यू-भाइ थिए। जेठाले एउटी स्त्रीलाई विवाह गरे, तर मरिहाले। उसको कुनै सन्तान थिएन। 30 अनि दोस्रो भाइले त्यो विधवालाई विवाह गरे, अनि ऊ पनि मरिहाले। 31 तब तेस्रो भाइले उसलाई विवाह गर्यो अनि उपनि मर्यो। त्यस्तै घट्ना अरू भाइहरूसित पनि घट्यो। तिनीहरू सबै सन्तान नभई मरे। 32 अन्तमा त्यो स्त्री पनि मरी। 33 तर सबै सात दाज्यू-भाइहरूले त्यसलाई विवाह गरेका थिए। अनि जब मानिसहरू मरेर बौरिन्छन् त्यो स्त्री कसकी पत्नी हुन्छे?”

34 येशूले ती सदूकीहरूलाई भन्नुभयो, “पृथ्वीमा मानिसहरूले आपसमा विवाह गर्छन्। 35 तर ती मानिसहरू जसलाई भविष्यको संसारका निम्ति योग्य ठानिन्छ अनि मृत्युबाट उठाई ल्याइन्छ तिनीहरू विवाह गर्दैनन् अथवा तिनीहरूको विवाह गराइदैन। 36 त्यतिवेला तिनीहरू स्वर्गदूत झैं हुनेछन् अनि मर्ने छैनन्। तिनीहरू पुनर्जीवित गराइएकाछन्। 37 मोशाले जलिरहेका पोथ्रोको वर्णन गर्दा स्पष्टरूपले भनेका छन् कि मानिसहरू मृत्युबाट बौरी उठ्नेछन्। परमप्रभुलाई मोशाले ‘अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरले भन्नुभएकोछ।’ 38 परमेश्वर मुर्दाहरूको परमेश्वर हुनुहुन्न तर उहाँ जीवित मानिसहरूका परमेश्वर हुनुहुन्छ। सबै मानिसहरू जो परमेश्वरका हुन् तिनीहरू जिउँदो छन्।”

39 कोही व्यवस्थाका शास्त्रीहरूले भने, “हे गुरू, तपाईंको उत्तर सही हो।” 40 उहाँलाई अरू धेरै प्रश्न गर्ने साहस कसैलाई भएन।

Read full chapter