Add parallel Print Page Options

येशू राजा झैं यरूशलेममा प्रवेश गर्नु भएको

(मत्ती 21:1-11; मर्कूस 11:1-11; यूहन्ना 12:12-19)

28 यी सबै कुराहरू जब येशूले भनिसक्नु भयो उहाँ यरूशलेमतिर जानु भयो। 29 उहाँ जैतून नाउँ भएको पहाड नजिकको बेथानी शहरमा पुग्नु भयो। उहाँले आफ्ना दुइजना चेलाहरूलाई बोलाउनु भयो अनि 30 तिनीहरूलाई भन्नु भयो, “यहाँ जुन गाउँ तिनीहरूको सामुन्ने छ त्यहाँ जाऊ। जब शहरमा पस्न लागेका हुन्छौ त्यहाँ एउटा गधालाई बाँधिराखेको पाउनेछौ। त्यो गधामा पहिले कोही पनि चढेको छैन। गधाको लगाम फुकाल, अनि त्यसलाई मकहाँ लिएर आऊ। 31 कसैले गधा किन खोल्दैछौ भनी तिमीलाई सोधेभने भन, ‘यो गधा मालिकलाई चाहिएको छ।’”

32 दुवै चेलाहरू शहरतिर लागे। तिनीहरूले गधालाई येशूले भन्नु भए झैं पाए। 33 जब ती चेलाहरूले गधाको डोरी खोल्दैथे, गधाको मालिकहरूले चेलाहरूलाई सोधे, “किन तिमीहरू गधा खोल्दैछौ?”

34 चेलाहरूले जवाफ दिए, “प्रभुलाई यसको अवश्यकता छ।” 35 यसकारण तिनीहरूले त्यो गधालाई येशूकहाँ ल्याए। चेलाहरूले आफ्ना लुगाहरू गधाको पिठ्यूँमा बिछ्‌याए। त्यसपछि तिनीहरूले येशूलाई त्यो गधामा चढाए। 36 येशू गधामाथि चढेर यरूशलेम तर्फ लाग्नुभयो। मानिसहरूले येशूको लागि आफ्नो लुगाहरू बाटोमा ओछ्याए।

37 येशू यरूशलेम पुग्नै लाग्नु भएको थियो। उहाँ जैतून डाँडाको फेदीमा पुग्नु भएको थियो। चेलाहरूको सम्पूर्ण भीड नै खुशी थियो। तिनीहरू परमेश्वरलाई धन्यवाद चढाउँदै थिए। तिनीहरूले परमेश्वरको शक्तिपूर्ण कार्यहरू देखेर उहाँलाई कराई कराई धन्यवाद चढाउँदैथे। 38 तिनीहरूले भने,

“‘धन्य हुन, ती राजा जो परमप्रभुको नाउँमा आउँछन्।’(A)

स्वर्गमा शान्ति होस् अनि परमेश्वरलाई महिमा होस्।”

39 भीडमा उभिएर कोही फरिसीहरूले येशूलाई भने, “गुरूज्यू! यस्तो कुराहरू नभन्नु भनेर तपाईंका चेलाहरूलाई भन्नुहोस्।”

40 तर उहाँले भन्नुयो, “म तिमीहरूलाई भन्छु, यी कुराहरू भन्नै पर्छ। यदि मेरा चेलाहरूले यी कुराहरू भनेनन् भने, यी ढुङ्गाहरू यसको लागि चिच्याउनेछन्।”

Read full chapter