Add parallel Print Page Options

हे परमप्रभु, तपाईं परमेश्वर हुनहुन्छ,
जसले मानिसहरूलाई दण्ड दिन्छ।
    तपाईं परमेश्वर हुनुहुन्छ जसले मानिसहरू प्रति दण्ड लिएर आउँछन्।
तपाईं सारा पृथ्वीका न्याय पालक हुनुहुन्छ।
    अहंकारी मानिसहरूलाई दण्ड दिनुहोस् जो त्यसका लायक छन्।
हे परमप्रभु, कहिले सम्म दुष्ट मानिसहरूले खेलाँची गर्नेछन्?
    कहिले सम्म परमप्रभु?
कहिलेसम्म ती दुष्टकर्मीहरूले
    भयङ्कर कामहरू गर्नेछन्?
हे परमप्रभु, तिनीहरूले तपाईंको मानिसहरूलाई कष्ट दिए।
    तिनीहरूले नै तपाईंका मानिसहरूलाई दुःखी, पीडित बनाए।
ती दुष्ट मानिसहरूले हाम्रा देशमा बसिरहेका विधवाहरू र परदेशीहरूलाई मारे।
    तिनीहरूले माता-पिता नभएका नानीहरूलाई हत्या गरे।
अनि तिनीहरूले भने परमप्रभुले तिनीहरूले गरिरहेका नीच कामहरू देख्दैनन्।
    तिनीहरूले भने कि इस्राएलका परमेश्वरले के भईरहेछ त्यो केही पनि जान्दैनन्।

तिमी अबुझ मानिसहरू तिमीहरू कहिले ज्ञानी हुन्छौ?
    हे मूर्खहरू हो तिमीहरू कहिले चेतनशील हुन्छौ?
तिमी पापी मानिसहरू अति हरिलट्ठक छौ।
    तिमीहरूले बुझ्नै पर्छ।
परमेश्वरले हाम्रो कानहरू बनाउनु भयो,
    निश्चय नै जसले कान बनायो उसले सुन्न सक्नुहुन्छ।
परमेश्वरले आँखा बनाउनु भयो,
    निश्चय नै के भइरहेको छ त्यो देख्न पनि सक्नुहुन्छ।
10 परमेश्वरले ती मानिसहरूलाई अनुशासनमा राख्नु हुनेछ।
    ती मानिसहरूले के गर्नु पर्ने परमेश्वरले सिकाउनु हुनेछ।
11 मानिसहरूले के सोचिरहेछन् परमेश्वर जान्नुहुन्छ।
    परमेश्वर जान्नुहुन्छ कि मानिसहरू हावाका झोंका मात्र हुन्।
12 मानिस जसलाई परमप्रभुले अनुशासनमा राख्नु भएको छ त्यो सुखी हुनेछ।
    परमेश्वरले त्यस मानिसलाई ठीक तरिकाले बाँच्ने बाटो बताउनु हुनेछ।
13 हे परमेश्वर, तपाईंले त्यस मानिसलाई सहयोग गर्नु हुनेछ,
जो सङ्कट आईपर्दा बिछिन्न हुँदछ।
    जब सम्म ती दुष्ट मानिसहरूलाई चिहानमा पुरिदैन,
    त्यसलाई शान्ति बस्न तपाईंले सहायता गर्नु हुनेछ।
14 परमप्रभुले आफ्ना मानिसहरूलाई त्याग्नु हुन्न,
    उहाँले तिनीहरूलाई सहयोग गर्न छोड्नुहुन्न।
15 न्याय फर्केर निर्मलतासित आउने छ।
    अनि त्यहाँ असल, ईमान्दारी मानिसहरू हुनेछन्।

16 कसैले पनि मलाई दुष्ट मानिसहरूको विरूद्ध लड्न सघाएनन्।
    कोही पनि मसँग ती नीच कर्म गर्ने मानिसहरूको विरूद्ध लडाईँ गर्न उभिएनन्।
17 यदि परमप्रभुले मलाई सहायता नगर्नु भएको भए,
    मृत्युद्वारा म मौन भइसकेको हुन्थें।
18 म जान्दछु कि म पतन हुन लागेको थिएँ,
    तर परमप्रभुले आफ्नो चेलालाई सहायता गर्नुभयो।
19 म अत्यन्त चिन्तीत र हड्बडिएको थिएँ
    तर परमप्रभु, तपाईंले मलाई सान्त्वना दिनुभयो अनि खुशी पार्नुभयो!

20 परमेश्वर, कपटी न्यायकर्त्तालाई सहयोग नगर्नुहोस्।
    ती दुष्ट न्यायकर्ताहरूले साधारण जनताको लागि,
    कठिन जीवन यापन गर्ने नियमहरू बनाउँदछन्।
21 त्यस्ता न्यायकर्ताहरूले असल मानिसहरूलाई आक्रमण गर्दछन्।
    तिनीहरूलाई दोषी साबित गरेर मार्न लगाउँछन्।
22 तर मेरो परमप्रभु, उच्च पर्वतमाथि मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
    परमेश्वर मेरो चट्टान हुनुहुन्छ, मेरो सुरक्षाको ठाउँ।
23 परमेश्वरले भयङ्कर कार्य गर्ने ती दुष्ट न्यायकर्ताहरूलाई दण्ड दिनुहुनेछ।
    परमेश्वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ किनभने तिनीहरूले पाप गरे।
    परमप्रभु हाम्रा परमेश्वरले ती पापी न्यायकर्ताहरूलाई नष्ट गर्नुहुनेछ।