भजनसंग्रह 36
Nepali Bible: Easy-to-Read Version
प्रमुख संगीतकारलाई: परमप्रभुका दास दाऊदको भजन।
1 एकजना दुष्ट मानिसले एकदमै दुष्ट कामगर्छ जब त्यो आफैंले आफैंलाई यसो भन्छ,
“म न त परमेश्वरसँग डराउनेछु न त परमेश्वरलाई आदर नै गर्नेछु।”
2 त्यो मानिस आफैंसित झूटो हुन्छ।
त्यस मानिसले आफ्नो गल्ती देख्दैन।
यसैले उसले क्षमाको याचना गर्दैन।
3 उसका शब्दहरू बेकामे झूटहरू मात्र हुन्छन्।
त्यो ज्ञानी पनि बन्न सक्तैन अथवा राम्रो कुरो सिक्न सक्दैन।
4 राती उसले दुष्ट योजना तयार पार्दछ।
ऊ उठ्छ तर राम्रो काम गर्दैन।
तर उसले अधर्म गर्नलाई नाईँनास्ति गर्दैन।
5 हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा आकाश भन्दा पनि उच्च छ।
तपाईंको विश्वसनीयता बादलहरूभन्दा पनि उच्च छ।
6 परमप्रभु, तपाईंको धार्मिकता सर्वोच्च पर्वत भन्दा पनि उच्च छ।
तपाईंको न्याय अगाध समुद्र भन्दा गहिरो छ।
परमप्रभु, तपाईंले मानिसहरू र पशुहरूलाई रक्षा गर्नुहुन्छ।
7 तपाईंको प्रिय अनुग्रह भन्दा कुनै चीज पनि बहुमूल्य छैन।
मानिस जाति र स्वर्गदूतहरू तपाईंकहाँ सुरक्षाको निम्ति आउँछन्।
8 परमप्रभु! तिनीहरू तपाईंको घरमा राम्रो चीजहरूबाट नयाँ शक्ति पाउँछन्।
तपाईंको आश्चर्यपूर्ण नदीबाट तिनीहरूलाई पिउन दिनु हुन्छ।
9 हे परमप्रभु! जीवनको स्रोत तपाईंबाट बहन्छ!
तपाईंकै ज्योतिबाट हामी ज्योति पाउँछौं।
10 हे परमप्रभु, तिनीहरूलाई प्रेम गर्नुहोस् जसले तपाईंलाई साँच्चो रूपले चिन्छन्
अनि जो विश्वासी छन् तिनीहरूको लागि असल काम गरिदिनु होस्।
11 हे परमप्रभु, अहंकारी मानिसलाई मलाई कुल्चिन नसकोस्।
दुष्ट मानिसहरूले मलाई घचेट्न नदिनु होस्।
12 यी चिन्हहरू तिनीहरूका चिहानमा राखी दिनुहोस्:
“यहाँ दुष्ट मानिसहरू सुतेका छन्।
तिनीहरूलाई धूलो पिठो पारियोस्।
तिनीहरू फेरि कहिल्यै पनि जाग्न सक्ने छैनन्।”
© 2004, 2010 Bible League International