Add parallel Print Page Options

इस्राएलका एकलाख चवालीस हजार मानिसहरू

यो घट्ना पछि मैले चारवटा स्वर्गदूतहरूलाई पृथ्वीका चारकुनामा उभिएको देखें। ती स्वर्गदूतहरूले वायुलाई भूमिमा वा समुद्रमा वा कुनै बृक्षमा वहनदेखि रोक्नुको लागि पृथ्वीका चारै वायुलाई समातिरहेका थिए। त्यसपछि मैले अर्को स्वर्गदूतलाई पूर्वबाट आइरहेको देखें। त्यो स्वर्गदूतको साथमा सजीव परमेश्वरको मोहर थियो। त्यो स्वर्गदूतले ठूलो स्वरमा ती चार स्वर्गदूतहरूलाई बोलाए। ती चार स्वर्गदूतहरू ती थिए जसलाई परमेश्वरले पृथ्वी अनि समुद्रलाई चोट पुर्याउने शक्ति दिनु भएको थियो। त्यो स्वर्गदूतले ती चार स्वर्गदूतहरूलाई भने, “भूमि वा समुद्र वा बृक्षहरूलाई, हाम्रा परमेश्वरको सेवा गर्ने मानिसहरूको निधारमा हामीले चिन्ह नलगाउन्जेल चोट नपुर्याऊ।”

तब मैले, कति जना मानिसहरूलाई चिन्हित गरियो, त्यो सुनें। त्याहाँ एकलाख चवालीस हजार थिए। तिनीहरू इस्राएलका मानिसहरूको हरेक कुल समूहबाट थिए:

यहूदाको कुल समूहबाट12,000
रुबेनको कुल समूहबाट12,000
गादको कुल समूहबाट12,000
आशेरको कुल समूहबाट12,000
नप्तालीको कुल समूहबाट12,000
मनश्शेको कुल समूहबाट12,000
शिमियोनको कुल समूहबाट12,000
लेवीको कुल समूहबाट12,000
इस्साखारको कुल समूहबाट12,000
जबूलूनको कुल समूहबाट12,000
यूसुफको कुल समूहबाट12,000
बेन्यामीनको कुल समूहबाट12,000

विशाल भीड

त्यासपछि मैले हेरें, अनि त्यहाँ कसैले गनिनसक्ने मानिसहरू थिए। तिनीहरू पृथ्वीका हरेक राष्ट्र, जाति, कूल अनि विभिन्न भाषाका मानिसहरू थिए। तिनीहरू सिंहासन अनि भेंडा़को पाठा सामुन्ने उभिरहेका थिए। तिनीहरू सबै सेतो पोशाकमा थिए अनि तिनीहरूका हातमा खजूरका हाँगा थिए। 10 तिनीहरू ठूलो स्वरमा कराए, “हाम्रा परमेश्वर जो सिंहासनमा विराजमान हुनुहुन्छ अनि भेंडा़को पाठाको जय होस्।”

11 अग्रजहरू अनि ती चार सजीव वस्तुहरू त्यहाँ थिए। सबै स्वर्गदूतहरू तिनीहरूको अघि सिंहासनको वरिपरि थिए। ती स्वर्गदूतहरूले सिंहासनको अघि घुँडा टेके अनि परमेश्वरको उपासना गरे। 12 तिनीहरूले भने, “आमिन! प्रशंसा, महिमा, ज्ञान, धन्यवाद, सम्मान, शक्ति अनि पराक्रम सदा-सर्वदा हाम्रा परमेश्वरलाई रहोस्। आमिन।”

13 तब एकजना अग्रजले मलाई सोधे, “यी सेता पोशाकका मानिसहरू को हुन्? तिनीहरू कहाँवाट आएका हुन्?”

14 मैले उतर दिएँ, “महाशय, तपाईंले चिन्नुहुन्छ।”

अनि अग्रजले भने, “यी ती मानिसहरू हुन् जसले महा-यातना भोगेर आएका छन्। तिनीहरूले भेंडा़को रगतले आफ्ना पोशाक धोएका छन्। अब तिनीहरू शुद्ध अनि सेता भएका छन्। 15 यसर्थ अहिले यी मानिसहरू परमेश्वरको सिंहासनको सामुन्ने छन्। तिनीहरू दिन रात परमेश्वरको उपासना उहाँको मन्दिरमा गर्छन्। अनि उनी एक, जो सिंहासनमा बस्छन् तिनीहरूलाई रक्षा गर्नेछन्। 16 तिनीहरूले कहिल्यै भोकाएको महशुस गर्ने छैनन्। तिनीहरू फेरि कहिल्यै तृषित हुने छैनन्। सूर्यले तिनीहरूलाई कहिले क्षति पुर्याउने छैन। तिनीहरूलाई गर्मिले पोल्ने छैन। 17 सिंहासनको माझमा भएको भेंडा़को पाठा तिनीहरूको गोठालो हुनुहुनेछ। उनले तिनीहरूलाई पानीको मुलतिर लानेछन् जसले जीवन प्रदान गर्नेछन्। अनि परमेश्वरले तिनीहरूका आँखाबाट प्रत्येक थोपा आँसु पुछिदिनेछन्।”