Add parallel Print Page Options

दुइ साक्षीहरू

11 त्यसपछि मलाई नाप्ने दण्ड जस्तै एउटा टेक्ने लट्ठी दिइयो। मलाई भनियो, “जाऊ अनि परमेश्वरको मन्दिरको वेदीको नाप लेऊ, अनि त्यहाँ पूजा गर्नेहरूको संख्या गन्ती गर। तर मन्दिर बाहिरको आँगन छोडिदेऊ। त्यसलाई ननाप। त्यो अयहूदीहरूलाई दिइएको छ। तिनीहरू बयालीस महीनासम्म पवित्र नगरमा पाइताला ठटाएर हिँडनेछन्। अनि म मेरा दुइ साक्षीहरूलाई अधिकार दिनेछु। अनि तिनीहरूले एकहजार दुइसय साट्ठी दिन अगमवाणी गर्नेछन्। तिनीहरूले पशुको भूत्लाको वस्त्र पहिरेका हुनेछन्।”

यी दुइ साक्षीहरू दुइ भद्राक्षका बृक्षहरू हुन् अनि दुइ दीप-दानी जो पृथ्वीका परमप्रभु अघि खड़ा छन्। यदि कुनै मानिसले ती साक्षीहरूलाई घात गर्ने प्रयास गरे ती साक्षीहरूका मुखबाट आगो निस्कनेछ अनि आफ्ना शत्रुलाई मार्नेछन्। कुनै मानिस जसले तिनीहरूलाई घात पुर्याउने चेष्टा गर्छ, यसै प्रकारले मारिनेछ। यी साक्षीहरूसित, तिनीहरूले अगमवाणी गरिरहेको समयमा आकाशलाई वृष्टि गराउनुबाट रोक्ने शक्ति छ। तिनीहरूसित पानीलाई रगत तुल्याउने शक्ति छ। तिनीहरूसित हरेक किसिमका कष्ट पृथ्वीमा पठाउने शक्ति छ। तिनीहरूले जति पल्ट यसो गर्न चाहन्छन् गर्न सक्छन्‌।

जब ती दुइ साक्षीहरूले आफ्ना प्रमाण सिध्याएका हुन्छन्, तब पशु तिनीहरूको विरुद्ध लडनेछ। यो त्यो पशु हो जो पातालबाट माथि आउँछ। त्यो पशुले तिनीहरू सबैलाई जित्नेछ अनि तिनीहरूलाई मार्नेछ। ती दुइ साक्षीहरूको शरीर महान्-नगरको गल्लीमा हुनेछ। यो नगरको नाउँ सोदोम अनि मिस्रदेश हो। नगरका यी नाउँहरूमा विशेष अर्थ छ। यो त्यही नगर हो जहाँ प्रभुलाई मारिएको थियो। हरेक वंश, जाति, भाषा अनि राष्ट्रका मानिसहरूले साढे तीन दिनसम्म ती दुइ साक्षीहरूको शवलाई देख्नेछन्। तिनीहरूलाई गाढ्न मानिसहरूले अस्वीकार गर्नेछन्। 10 किनभने यी दुइ मरेकोमा पृथ्वीका बासिन्दाहरू खुशी हुनेछन्। तिनीहरू भोज गर्नेछन् अनि एक अर्कालाई उपहार दिनेछन्। किनभने यी दुइ अगमवक्ताहरूले पृथ्वीमा बस्ने मानिसहरूमा अनेक यातना दिए।

11 तर साँढे तीन दिनपछि परमेश्वरले ती दुइ अगमवक्ताहरूमा परमेश्वरबाटको जीवन हाली दिनुभयो। तिनीहरू आफ्ना खुट्टामा उभिए। सबै मानिसहरू जसले तिनीहरूलाई देखे खुबै डराए। 12 तब ती अगमवक्ताहरूले स्वर्गबाट ठूलो आवाज सुने, “यहाँ माथि आऊ।” अनि ती दुइ अगमवक्ताहरू बादलमा माथि स्वर्ग गए। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई माथि गएको देखे।

13 त्यसैबेला त्यहाँ ठूलो भूँईचालो गयो। शहरको दशौं भाग नष्ट भयो। अनि सात हजार मानिसहरू त्यस भूँईचालोमा मरे। मानिसहरू जो मरेनन् तिनीहरू अत्यन्त भयभीत थिए। तिनीहरूले स्वर्गका परमेश्वरलाई महिमा गरे।

14 दोस्रो विपत्ती पूर्ण भयो। तेस्रो विपत्ती चाँडै आइरहेछ।

सातौं तुरही बज्यो

15 सातौं स्वर्गदूतले आफ्नो तुरही बजाए। तब स्वर्गमा ठूलो आवाजहरू भयो। आवाजहरूले भने,

“संसारको राज्य अब हाम्रा परमप्रभु परमेश्वरको अनि ख्रीष्टको भएको छ।
    अनि उहाँले सदा-सर्वदा शासन गर्नेछन्।”

16 तब ती चौबीस धर्म-गुरुहरूले शिर झुकाए अनि परमेश्वरको आराधान गरे। तिनीहरू ती धर्म-गुरुहरू हुन् जो परमेश्वरको सामुन्ने आफ्ना सिंहासनमा बस्छन्। 17 ती अग्रजहरूले भने,

“प्रभु परमेश्वर, जो सर्व-शक्तिमान हुनुहुन्छ, हामी तपाईंलाई धन्यवाद चढ़ाउँछौ।
    तपाईं नै एक हुनुहुन्छ, जो हुनुहुन्छ, जो सर्वदा हुनुहुन्थ्यो।
हामी तपाईंलाई धन्यवाद दिन्छौ किनभने तपाईंले आफ्नो महान-शक्ति लिनुभयो
    अनि शासन गर्नु शुरु गर्नुभयो।
18 संसारका राष्ट्रहरू क्रोधित थिए,
    तर अब तपाईंको क्रोधित हुने समय हो।
अब, मृत मानिसहरूको न्याय गर्ने समय हो।
    अब, तपाईंका सेवकहरू अनि अगमवक्ताहरूलाई पुरस्कृत गर्ने समय हो,
अनि तपाईंको पवित्र मानिसहरूलाई पुरस्कृत गर्ने समय हो,
    ती ठूला अनि साना मानिसहरू जो तपाईंलाई सम्मान गर्छन्।
यो ती मानिसहरूलाई संहार गर्ने समय हो, जसले पृथ्वीको संहार गर्छन्।”

19 त्यसपछि स्वर्गमा परमेश्वरको मन्दिर खोलियो। त्यो पवित्र सन्दूक जसमा परमेश्वरले उनका मानिसहरूलाई दिएको करार थियो, उनको मन्दिरमा देख्न सकिन्थ्यो। तब त्यहाँ बिजुली चम्क्यो, हल्ला भयो, गर्जन भयो, भूँईचालो आयो अनि धेरै असीना पर्यो।